सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

195 Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आज बिदाइ भेट गर्नुभएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सम्पन्न भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक तथा विकास सहकार्य विस्तार लगायतका विषयमा छलफल भएको छ।

सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङलाई धन्यवाद दिँदै द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक विकासमा सहकार्य विस्तार तथा दुवै देशका संसद्हरूबीच सम्बन्ध मजबुत बनाउन उहाँले पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्नुभयो।

भेटका क्रममा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै देशले आयोजना गरेका विविध कार्यक्रमहरूले सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताउनुभयो।

सभामुख घिमिरेले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदारका रूपमा रहँदै आएको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पार्नुभयो। उहाँले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नेपाली भूमिबाट चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्राप्त सहयोगप्रति सभामुख घिमिरेले प्रशंसा गर्नुभयो। साथै दुवै देशका संसद्हरूबीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले सम्बन्ध अझ मजबुत बनेको उल्लेख गर्नुभयो।

सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको विकास सहायताप्रति आभार व्यक्त गर्दै बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गतका तथा अन्य विकास सहायता परियोजनाहरू शीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो।

राजदूत सोङले चीनले नेपाललाई कूटनीतिक रूपमा उच्च प्राथमिकता दिएको बताउँदै आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको उल्लेख गर्नुभयो।

उहाँले नेपाल–चीनबीच जनस्तरको सम्बन्ध बलियो भए पनि आर्थिक सहकार्य अपेक्षाअनुसार विस्तार हुन नसकेको धारणा राख्नुभयो। केही दिनअघि सम्पन्न नेपाल–चीन आर्थिक सहकार्य तथा लगानीसम्बन्धी कार्यशाला स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी पनि दिनुभयो।