डा.उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड

309 Shares

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्यायलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको छ। भारतको लखनउमा आयोजित विशेष समारोहका बीच सांसद तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

आयोजकका अनुसार गीत तथा साहित्य क्षेत्रमा डा. उपाध्यायले पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई प्रतिभाश्री अवार्ड प्रदान गरिएको हो। सो अवसरमा अन्य प्रतिष्ठित व्यक्तित्वहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो।

यसैबीच, डा. उपाध्यायलाई हालै युरोपस्थित आइआइइचएसआर विश्वविद्यालयले साहित्य (डी–लिट) विधामा मानार्थ विद्यावारिधी प्रदान गरेको छ। विश्वविद्यालयका प्रतिनिधि जेम्स केरीलगायत अन्य सम्मानित अतिथिहरूले उनलाई उक्त उपाधि प्रदान गरेका हुन्।

समाजशास्त्र विषयमा सन् २००० मा विद्यावारिधी प्राप्त गरिसकेका डा. उपाध्यायलाई यसअघि अमेरिकासहित विभिन्न आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरिसकेका छन्। पछिल्लो उपाधिसँगै यो उनको नवौँ मानार्थ विद्यावारिधी हो।

गीत, संगीत र साहित्यका विविध विधामा डा. उपाध्यायले १५३ वटा विश्व कीर्तिमान कायम गरिसकेका छन्। उनका एक दर्जनभन्दा बढी उपन्यास, तीन गीति पुस्तक र ३६ वटा सांगीतिक एल्बम सार्वजनिक भइसकेका छन्।

करिब २५० गीत र सयौँ गीतका भिडियो सार्वजनिक गरिसकेका डा. उपाध्यायको पछिल्लो कृति ‘आशक्ति’ उपन्यास रहेको छ।