वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण वापत भएको शुल्कवृद्धि खारेज

192 Shares

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले निर्णय गर्दै शुल्कलाई पुरानै दरमा कायम गर्न निर्देशन दिनुभएको हो।

यसअघि सरकारले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रुपैयाँ पुर्‍याएको थियो। तर उक्त निर्णय खारेज गर्दै पुनः ६ हजार ५०० रुपैयाँ नै कायम गरिएको मन्त्रालयले जनाएको छ।

शुल्क वृद्धिले वैदेशिक रोजगारीमा जाने गरिब तथा विपन्न वर्गका कामदारहरूलाई आर्थिक रूपमा ठूलो बोझ परेको भन्दै विभिन्न क्षेत्रबाट तीव्र आलोचना भइरहेको थियो। त्यसैका कारण सरकारले निर्णय फिर्ता लिएको बताइएको छ।

यसअघि २०८१ मङ्सिरमा तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीको कार्यकालमा मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरी ९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो। त्यसबेला पनि व्यापक विरोधपछि शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो।

पछि पुनः लागू गरिएको उक्त वृद्धि गरिएको शुल्कलाई सरकारले मन्त्रिस्तरीय निर्णयमार्फत फेरि खारेज गरेको हो।