चुनावी प्रचारमा उम्मेदवारलाई दुई सवारी र ४ वटा घोडा प्रयोग गर्न अनुमति

172 Shares

काठमाडाैं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा अनुमति बिना कुनै पनि उम्मेदवारले सवारीसाधन प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

प्रस्तावित आचारसंहिताअनुसार आयोगबाट अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी प्रयोग गरी चुनावी प्रचारप्रसार वा प्रचार सामग्री प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ। अनुमति नलिई सवारीसाधन प्रयोग गरेको पाइएमा त्यस्ता सवारी नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने व्यवस्था गरिएको छ। सवारी नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरी वा सुरक्षाकर्मीले जिल्ला आचारसंहिता अनुगमन समितिलाई जानकारी गराउनुपर्नेछ।

आचारसंहिताअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्रभित्र आयोगले तोकेअनुसार बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे (विद्युतीय वा इन्धनबाट चल्ने) सवारीसाधन प्रयोग गर्न पाइनेछ। सवारीसाधन पुग्न नसक्ने स्थानमा भने चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी, विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न नपाइने र त्यसका लागि कुनै पनि अनुमति नदिइने उल्लेख गरिएको छ। राजनीतिक दलहरूले प्रक्रिया पूरा गरी तोकिएको संख्या र प्रकारका सवारीसाधन मात्र प्रयोग गर्न पाउनेछन्। सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्नसमेत निषेध गरिएको छ।

अनुमति प्राप्त सवारीसाधन अन्य दल वा उम्मेदवारलाई दिन नपाइने र अनुमति नलिएको उम्मेदवारले त्यस्ता सवारी प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। साथै, अनुमति लिएका सवारीसाधन प्रयोग गरी मतदाता ओसारपसार गर्न पनि प्रतिबन्ध लगाइएको छ।

तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक जस्ता मतदाताका हकमा निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा सवारीसाधन प्रयोग गर्न रोक नलगाइने व्यवस्था गरिएको छ।

यसका साथै, राजनीतिक दलहरूले प्रचारप्रसारका लागि मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगबाट अनुमति प्राप्त मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था पनि प्रस्तावित आचारसंहितामा समेटिएको छ।