जैविक विविधताको सकारात्मक संकेत: राप्ती र नारायणीमा घडियाल बढे, गोलाघाटमा डल्फिन

183 Shares

चितवन । चितवनका दुई प्रमुख नदी राप्ती र नारायणीमा दुर्लभ तथा संकटापन्न प्रजातिका घडियाल गोहीको संख्या बढेको पाइएको छ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरेको अनुगमन तथा गणनाका क्रममा दुवै नदी प्रणालीमा गरी ३६६ वटा घडियाल गोही प्रत्यक्ष रूपमा देखिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो। उहाँका अनुसार राप्ती नदीमा २३१ वटा र नारायणी नदीमा १३५ वटा घडियाल गोही फेला परेका छन्।

गत वर्ष दुवै नदीमा जम्मा ३५२ वटा घडियाल गोही देखिएका थिए, जसमा राप्ती नदीमा २०६ र नारायणी नदीमा १४६ वटा थिए। यस वर्षको गणनामा कुल संख्या वृद्धि भएको देखिएको छ।

यस वर्षको अनुगमनमा भाले घडियाल गोहीको संख्या पनि बढेको पाइएको छ। राप्ती नदीमा ७ वटा र नारायणी नदीमा २ वटा गरी जम्मा ९ वटा भाले घडियाल गोही देखिएका छन्। अघिल्लो वर्षको तुलनामा भाले घडियालको संख्या उल्लेख्य रूपमा बढेको सूचना अधिकारी थापामगरले बताउनुभयो।

चितवन राष्ट्रिय निकुञ्जले २०८२ मंसिर २१ गतेदेखि २९ गतेसम्म निकुञ्ज क्षेत्र हुँदै बग्ने राप्ती र नारायणी नदीमा घडियाल गोहीको प्रत्यक्ष अवलोकन तथा अनुगमन गरेको हो। नदी प्रणालीमा घडियाल गोही र तिनको बासस्थानको वर्तमान अवस्थाबारे अद्यावधिक जानकारी लिन यस्तो अनुगमन गरिएको निकुञ्जले जनाएको छ।

चितवन राष्ट्रिय निकुञ्जको कसरामा सन् १९७८ देखि घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ। केन्द्रले प्रत्येक वर्ष खोलाबाट घडियालका अण्डा संकलन गरी बच्चा हुर्काएर राप्ती, नारायणीसहित देशका विभिन्न नदीहरूमा छाड्दै आएको छ।

गोलाघाटमा डल्फिन देखियो

घडियाल गोहीको गणनाका क्रममा राप्ती र नारायणी नदीको संगमस्थल गोलाघाट क्षेत्रमा एक डल्फिनसमेत देखिएको छ। नारायणी नदीमा बेला–बेलामा डल्फिन देखिने गरेको निकुञ्जले जनाएको छ।

सूचना अधिकारी थापामगरका अनुसार डल्फिन देखिनु जैविक विविधताको दृष्टिले सकारात्मक संकेत हो। यसअघि पनि २०८० सालमा नारायणगढ नजिकैको नदी किनारमा डल्फिन देखिएको थियो। विशेषगरी गोलाघाट क्षेत्रमा यस्ता डल्फिन देखिने गरेका छन्।