भ्रष्टाचार अनुसन्धानमा रहेका उम्मेदवारलाई निर्वाचन रोक प्रस्ताव

204 Shares

काठमाडौँ। निर्वाचन आयोगले भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रावधान राख्ने प्रस्ताव गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले उम्मेदवारका लागि स्वघोषणाको ढाँचा तयार पारेको हो। सो ढाँचामा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने विषयहरू समावेश गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावित स्वघोषणामा भनिएको छ, “कुनै भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा नरहेको तथा सो कसुरमा मुद्दा दायर नभएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रूपमा मुद्दा विचाराधीन नरहेको।” उम्मेदवारले यससम्बन्धी स्वघोषणा अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

यसका साथै उम्मेदवारले विगतमा जस्तै नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, कुनै संघीय कानुनले अयोग्य नठहरिएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा तिनको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको स्वघोषणा गर्नुपर्नेछ।

त्यस्तै, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पद धारण नगरेको, अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारका रूपमा मनोनयन दर्ता नगरेको, कुनै सरकारी निकायलाई जिन्सी वा नगद बुझाउन बाँकी नरहेको, सरकारी पेश्की तथा बेरुजु तिर्न बाँकी नरहेको विषयमा समेत स्वघोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ।

आयोगले तयार पारेको स्वघोषणाको ढाँचाबारे सरोकारवाला पक्षसँग छलफलपछि अन्तिम निर्णय लिने जनाएको छ।

election-noticed.png