काठमाडौं। निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभरका मतदानस्थलहरूको पुनरावलोकन गरेको छ। सो क्रममा १६८ नयाँ मतदानस्थल थप गरिएको छ भने प्रयोगमा नरहेका ९३ मतदानस्थल खारेज गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको पहुँच सरल, सहज र व्यवस्थित बनाउन मतदानस्थल पुनरावलोकन गरिएको हो। मतदातालाई असहज पर्ने, जिर्ण अवस्थामा रहेका वा प्रयोगमा नरहेका मतदानस्थल हटाउँदै सुविधा पुग्ने स्थानमा नयाँ मतदानस्थल थप गरिएको आयोगको भनाइ छ।
यस पुनरावलोकनपछि साविकमा रहेका १० हजार ८९२ मतदानस्थलमा ७५ थप भई देशभर १० हजार ९६७ मतदानस्थल कायम भएका छन्।
पुनरावलोकनका क्रममा मतदानस्थलको नाम र ठेगानामा रहेका त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गर्ने, तथा साविककै अन्य मतदानस्थलमा मतदातालाई समायोजन गर्ने जस्ता कार्यहरू पनि सम्पन्न गरिएको आयोगले जनाएको छ।
आयोगले यी सुधारले मतदान प्रक्रिया थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया