अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित

196 Shares

काठमाडौँ । अमेरिकाले विविधता आप्रवासी भिसा (डीभी) अर्थात् ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम स्थगित गरेको छ ।

ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरेका हुन् । घटनाका मुख्य संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए ।

नेभेस भालेन्ते सन् २०१७ मा डीभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरी ग्रीन कार्ड प्राप्त गरेका व्यक्ति भएको खुलेको छ । घटनापछि सुरक्षा जोखिम बढेको ठहर गर्दै कार्यक्रम रोकिएको अमेरिकी प्रशासनको भनाइ छ ।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार ग्रीन कार्ड लटरी कार्यक्रम स्थगित गरिएको जानकारी दिँदै, “अब कुनै पनि अमेरिकी नागरिकको ज्यान जोखिममा नपरोस् भन्ने सुनिश्चित गर्न यो निर्णय लिइएको हो,” बताएकी छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार नेभेस भालेन्तेले यसै साता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको हत्या गरेको पनि आशंका गरिएको छ ।

डीभी कार्यक्रमअन्तर्गत अमेरिका आप्रवासन दर कम भएका देशका आवेदकमध्ये चिठ्ठा प्रणालीमार्फत प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा प्रदान गरिँदै आएको थियो । यस कार्यक्रममार्फत नेपालीहरू पनि अमेरिका जाने र ग्रीन कार्ड लिएर बसोबास गर्ने गरेका छन्