‘शान्ति’ विधेयक भारतमा पास, पाकिस्तानको बढ्दो चासो

200 Shares

काठमाडौं । भारतका दुवै सदनबाट ‘शान्ति’ विधेयक पारित भएपछि छिमेकी मुलुक पाकिस्तानले चिन्ता व्यक्त गरेको छ। उक्त विधेयकले निजी क्षेत्रलाई परमाणु ऊर्जामा लगानी गर्ने अवसर दिने प्रावधान समेटिएको भन्दै पाकिस्तानले यसप्रति गम्भीर चासो देखाएको हो।

पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले बिहीबार आयोजित साप्ताहिक प्रेस ब्रिफिङमा भारतको परमाणु सुरक्षासँग जोडिएका विगतका घटनालाई उल्लेख गर्दै स्थिति नजिकबाट निगरानी गरिरहेको बताए। उनले १९९० को दशकदेखि हालसम्म रेडियोएक्टिभ सामग्रीको चोरी र अवैध कारोबारका घटनाहरू सार्वजनिक हुँदै आएको दाबी गरे, यद्यपि ती घटनाहरू कहाँ भएका हुन् भन्नेबारे स्पष्ट खुलासा गरेनन्।

प्रवक्ता अन्द्राबीका अनुसार संवेदनशील परमाणु सामग्री तथा त्यससँग सम्बन्धित सूचनामा निजी क्षेत्रको पहुँच बढ्नु चिन्ताको विषय हो। उनले यसले निजी व्यक्तिहरूको पहुँच सीमित गर्न विश्व समुदायले गरिरहेको प्रयासलाई चुनौती दिन सक्ने बताए।

यद्यपि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने उक्त विधेयकले स्वच्छ ऊर्जाको भविष्यलाई थप बलियो बनाउने दाबी गरेका छन्। संसदबाट विधेयक पास भएपछि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया जनाउँदै मोदीले एआई प्रविधिलाई सुरक्षित ऊर्जा आपूर्ति, हरित उत्पादन प्रवर्द्धन तथा विश्वव्यापी स्वच्छ ऊर्जाको भविष्य सुदृढ बनाउन यो विधेयक सहयोगी हुने उल्लेख गरेका छन्।

उनले यस कानुनबाट निजी क्षेत्र र युवाहरूका लागि नयाँ अवसरका ढोका खुल्ने पनि बताएका छन्।