काठमाडौं ।सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन्। उच्च अदालत बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलले तीन सर्तसहित उनलाई थुनामुक्त गर्न आदेश दिएका हुन्।
अदालतको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया, बैंक जमानतको प्रमाणीकरण र सनाखत पूरा भएपछि मात्र रिहाइ हुने छ। लामिछाने स्वयं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले बिहीबार रिहा हुन सकेका थिएनन्।
सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा यसअघि माघ २०८१ मा राखिएको १ करोड रुपैयाँ धरौटी पुनः कायम रहनेछ। साथै, बिगोको हकमा दायित्व परे तिर्न–बुझाउन मञ्जुर हुने कागज गराइएको छ। उच्च अदालतले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत सर्तसहित स्वीकार गरेको छ।
हाल ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेलाई सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र थुनामुक्त गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया