आलोचनापछि न्याम्स फेलोसिपमा चिकित्सकलाई निर्वाह भत्ता

211 Shares

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा सहभागी चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गर्दै फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराइने जनाएको हो ।

सूचनामा भनिएको छ, विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनबमोजिम मास्टर लेभलसरहको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएको छ ।”

फेलोसिप कार्यक्रममा सरकारी प्रतिष्ठानले नै चर्को शुल्क लिएको र निर्वाह भत्ता नदिएको भन्दै चिकित्सकहरूले विरोध जनाउँदै आएका थिए । सोही कारण न्याम्सको फेलोसिप भर्ना कार्यतालिका प्रभावित भएको थियो । यसअघि १ पुसदेखि भर्ना प्रक्रिया अघि बढाउने तयारी गरिएको भए पनि शुल्क विवादका कारण भर्ना प्रक्रिया १५ दिन पछाडि सारिएको थियो ।

न्याम्सले सञ्चालन गर्दै आएको एक वर्षे फेलोसिप कार्यक्रममा अधिकतम ८ लाख ४० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । विदेशी चिकित्सकका लागि भने १८ हजार अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ ।

न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्र कुमार बस्नेतले फेलोसिप कार्यक्रमका प्रशिक्षार्थीलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय भइसकेको जानकारी दिए । चिकित्सा शिक्षा आयोगले तोकेको स्नातकोत्तर तहका प्रशिक्षार्थीले पाउने भत्ताबराबरको रकम दिने निर्णय गरिसकेका छौं । हाल यो रकम ४८ हजार रुपैयाँ छ,” उनले भने । सम्बन्धन प्राप्त सबै कलेजलाई यससम्बन्धी पत्र पठाइसकिएको पनि उनले बताए ।

उनका अनुसार फेलोसिप कार्यक्रमको शुल्क परिमार्जनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको छ । तर, यी विषयहरू विद्यार्थीहरूको वास्तविक समस्याभन्दा पनि चिकित्सक संघको चुनावी एजेन्डाका रूपमा बढी उठाइएको दाबी उनले गरे । “यो मुद्दा अहिले चिकित्सक संघको चुनावी भोट माग्ने माध्यम बनेको छ,” डा. बस्नेतले बताए ।

notice-nams.jpg