काठमाडौँ । जेन–जी आन्दोलन जाँचबुझ आयोगले आगामी हप्ता राजनीतिक नेतृत्वसँग बयान लिने तयारी गरेको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गरी बयान लिनुपर्ने चर्चा चलिरहेका बेला आयोगले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग बयान लिने तयारी भइरहेको जानकारी गराएको हो।
प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगले बाँकी रहेका सबै सम्बन्धित व्यक्तिहरूलाई बयानका लागि बोलाउने तयारी गरेको बताए।
उनले भने, ‘हामी सबैलाई बोलाउँछौँ। अर्को हप्ता बोलाउँछौँ। नआउनेहरूलाई के गर्ने भन्ने विषयमा पछि नै छलफल गरौँला।’
अन्तरिम सरकारले जेन–जी आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने कार्यादेशसहित कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया