प्रधानमन्त्री कार्की र नेपालका लागि चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेटवार्ता

249 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङले बुधबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट गर्नुभएको हो। भेटका क्रममा नेपाल–चीन सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा राजदूत सोङले चीन नेपालको घनिष्ठ मित्र राष्ट्र रहेको उल्लेख गर्दै नेपालको विकास निर्माणका विभिन्न क्षेत्रमा चीनले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले सफल कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका राजदूत सोङलाई बधाई दिँदै सफल यात्राको शुभकामना व्यक्त गर्नुभयो। साथै, नेपाल एक चीन नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र नेपालको भूमि चीनको राष्ट्रिय हितविपरीत प्रयोग हुन नदिने विश्वास दिलाउनुभयो।

चीनबाट भविष्यमा पनि नेपालको विकास निर्माणमा आवश्यक साथ, समर्थन र सहयोग प्राप्त हुने अपेक्षा प्रधानमन्त्री कार्कीले व्यक्त गर्नुभएको छ।