काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम शुरू नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ लाई जोड्ने अलपत्र परेको घुमाउने पुलको आज निरीक्षण गर्दै मन्त्री घिसिङले एक महिनाभित्र काम शुरू गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । मन्त्री घिसिङले लामो समय अलपत्र भए ठेक्का तोड्नुभन्दा अर्को विकल्प नरहेको उल्लेख गरेका छन् ।
मन्त्री घिसिङले घुमाउने पुलको डिजाइन परिवर्तन गरी सडक विभागमा आएकोबारे तत्कालै डिजाइन स्वीकृत गर्न सडक विभागलाई निर्देशन दिनुभएको हो । त्रिशूली नदीमाथिको घुमाउनेमा सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । एघार वर्ष अगाडि घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ ।
मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक २०७० साल असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । डिजाइन परिवर्तनपछि अन्तिम पटक २०७५ साल माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सम्झौताको बेला पुलको लागत नौ करोड ५६ लाख थियो । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको मोटरेबल पुलको निर्माण सम्पन्न भए पोखरा र दमौलीलाई नारायणगढ आउन जान अहिले सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सीमानामा पुगेर फर्कन बाध्य छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया