काठमाण्डौ । आज धान्य पूर्णिमा, योमरी पुन्हि र उधौली पर्व धुमधामका साथ मनाइएको छ । धानको विधिपूर्वक पूजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ ।मङ्सिरमा धान भिर्त्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कूलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने र त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यस अवसरमा काभ्रेको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाण्डौको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायतका ठाउँमा मेला लाग्ने गर्छ । यस्तै नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व मनाएका छन् । मंसिर शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो पर्वका रूपमा मनाइने योमरी पुन्हिलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । आजैको दिन ज्यापु दिवस पनि मनाइएको छ । नेवारी समुदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापु दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको छ । यस्तै आज किराँत समुदायले पितृको मान र प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन् । उधौलीको अवसरमा किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । किराँत समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउने चलन छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया