जेनजी प्रतिनिधिलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

सोमबारसम्म शपथ

395 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।  

आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनाएको छ । 

स्रोतका अनुसार, मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ ।

जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् । 

श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

प्रधानमन्त्री निकट अर्को एक स्रोतले भने टासीको नाममा प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरिरहेकी छिन् । श्रेष्ठ देशका सम्पदाहरू जोगाउनुपर्ने तर्क अघि राख्दै हिँडेका अभियान्ता हुन् ।

त्यस्तै, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ ।

गुप्ताले कोभिडकालमा निस्शुल्क खाना अभियान चलाए, कपडा बैंक स्थापना गरेका छने् । 

रामजी रामलाई भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइँने बताइएको छ । 

टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

हुम्लाको लिमि भ्यालीस्थित नाम्खा गाउँपालिकामा जन्मिएकी उनी जलवायु परिवर्तनको मुद्दामा पैरवी गर्ने गर्छिन् । 

त्यस्तै, जेनजी आन्दोलनमा भाग लिएका अन्य युवाहरूलाई प्रधानमन्त्रीको सचिवालयमा राख्नेगरी तयारी भएको पनि स्रोतले बताएको छ ।