मनसुनजन्य विपद् व्यवस्थापनका लागि सशस्त्रका २ हजार ६ सय ६१ जनशक्ति परिचालन

226 Shares

काठमाण्डौ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति  परिचालन गरेको छ ।

शनिवार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो ।

सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३ सय ३२ स्थानमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटाएको बताए ।

विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको जानकारी दिए ।

हालसम्म कुनैपनि गम्भीर किसिमको घटनाको सूचना प्राप्त नरहेको बताए । ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरु लगाएर बोराहरु हाल्ने काम भएको बताए । 

१ सय २९ वटा ¥याफ्टिङहरु कोशी, गण्डकी, वागमती प्रदेशहरुमा, मधेस प्रदेशमा परिचालन गरिएको पनि बताए । उद्धार टोली र एम्बुलेन्सहरु सबै स्ट्याण्डबाइ राखिएको बताए। ६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको जानकारी दिए । 

उनले सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाएर सतर्क पारिएको बताए। उनले ३ हजार ६ सय ३६ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई अहिलेको अवस्थामा विभिन्न उपकरणसँगै उद्धारमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएको बताए ।

हिमाली क्षेत्रमा पुगेका पर्यटकलाई हिमपात हुनसक्ने पूर्वानुमानअनुसार सुरक्षित स्थानमा फर्किन आग्रह गरिएको बताए ।