काठमाण्डौ । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनहरु पूजा आराधनाका लागि पुगेका छन् । हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो ।
वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा पूजा आराधनाका लागि दर्शनार्थीहरु पुगेका हुन् । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खुला गरिएको हो ।
तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ ।
विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन समितिले साइतअनुसार यात्रा गराइनेछ । यस वर्ष विगतको तुलनामा दर्शनार्थीहरु केही कम भएकाले सहजै दर्शन गर्न पाएको शक्तिशाली देवी भएकाले पूजा आराधना गर्दा राम्रो हुने भएकाले पूजाका लागि आएको दर्शनार्थीको भनाइ छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्ववका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबली पनि दिने गरिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया