‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ पुरस्कार प्राध्यापक कँडेललाई

368 Shares

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिने भएको छ । 

मस्र्याङ्दी वाङमय प्रतिष्ठानले यसवर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्राध्यापक कँडेललाई प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानको पुरस्कार छनोट समितिको बैठकले रु एक लाख नगद राशिको उक्त पुरस्कार प्राध्यापक कँडेललाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिनुभयो । 

पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष न्यौपानेसहित विज्ञको तर्फबाट प्राडा लेखप्रसाद निरौला र राष्ट्रकविको परिवारका तर्फबाट प्राडा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो ।

धादिङ स्थायी घर हुनुभएका कँडेल संस्कृत, नेपाली र अङ्ग्रेजीका ज्ञाता हुनुका साथै छन्द साधना र कविता लेखनमा विशेष दख्खल राख्नुहुन्छ । प्राध्यापक कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ खण्डकाव्यले विसं २०७३ मा मदन पुरस्कार प्राप्त गरेको थियो ।

प्राध्यापक कँडेलले नेपाली शिक्षा परिषद्बाट भानुभक्त पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ । 

उक्त पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते प्रदान गरिनेछ । 

राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे र उहाँका परिवारबाट दिइएको रकममा प्रतिष्ठानबाट केही रकम थप गरी रु २७ लाखको अक्षयकोष बनाइएको छ । 

सोही अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमले उक्त पुरस्कार प्रदान गरिँदै आइएको प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार विगत तीन वर्षदेखि पुरस्कार प्रदान गरिँदै आइएको छ ।

उक्त पुरस्कारबाट यसअघि वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठी र वरिष्ठ गीतकार किरण खरेल सम्मानित भइसक्नुभएको छ ।