भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

262 Shares

काँक्रेविहार । भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् । 

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिएका हुन् । उनले भने, “बाढीपछि बेपत्ता भएकाहरु हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसँग सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्।” 

बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरे। सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताए । जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको बताए । पहिरोले सडक पनि ठप्प भएकाले उद्दारमा समस्या भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। एएनआई