सरकार र अनसनरत नगरप्रमुख भट्टराईबीच सहमति

285 Shares

काठमाडौँ । वन्यजन्तुबाट कृषिमा हुने क्षति, जलवायु परिवर्तन र स्थानीय स्रोत–साधनको संरक्षणमा आधारित सात बुँदे माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र सरकारबीच सैद्धान्तिक सहमति भएको छ ।

आइतबार माइतीघर मण्डलामा नगरप्रमुख भट्टराईको तर्फबाट पत्रकार सम्मेलन गर्दै सरकारसँग ७ बुँदे मागमा सैद्धान्तिक सहमति भएको जानकारी गराइएको हो । नगरप्रमुख भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा चरणबद्धरुपमा सत्याग्रह गर्नुभएको थियो । श्रावण १४ गते राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई चिकित्सकको सल्लाहमा वीर अस्पताल भर्ना गरिएको थियो । भट्टराईको अनसनपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्तिमार्फत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको थियो । त्यही सिलसिलामा वन तथा वातावरण मन्त्रालयको पहलमा श्रावण १५ र १७ गते दुई चरणमा ५ घण्टासम्म वार्ता भएको थियो । 

दुवै पक्षबीच बाँस, गाँजा जस्ता वनस्पतिको प्रयोगका लागि ४५ दिनभित्र भवन निर्माण कोड तथा मापदण्ड तय गरिने, सखुवा, खयर लगायत कुहिएर नष्ट भइरहेका काठको आर्थिक उपयोगबारे विज्ञ समिति गठन गरी अध्ययन सुरु गरिने, कोदो, गहत, आदि जस्ता रैथाने बालीलाई व्यवसायिकरूपमा प्रवर्द्धन गर्ने नीतिगत निर्णय गरिने, रैथाने स्रोतसाधनलाई सरकारी संरचनाभित्र प्राथमिकतामा राखी प्रयोगमा ल्याउने लगायत सहमति भएको छ । उक्त सहमति ४५ दिनभित्र कार्यान्वयन गर्ने सरकारले प्रतिवद्धता जनाएको छ ।