जलवायु परिवर्तनका असर सम्बन्धमा नेपालले भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

282 Shares

काठमाडाैं । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने बताउनुभएको छ ।

संसदमा सभामुखहरुको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आइतबार स्वदेश फर्किनुभएका सभामुख घिमिरेले यसबारे जानकारी गराउनुभएको हो । उहाँले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनु भयो । 

त्यसबारे पनि सम्मेलनमा छलफल भएको जानकारी दिनुभयो । उहाँले अन्तर व्यवस्थापिक संघ (आइपियु) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक रिजनको जलवायुका असरहरुसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताउनु भयो । 

अन्तर व्यवस्थापिका संघ (आइपियु) र संयुक्त राष्ट्रसंघ (युएन)द्वारा संयुक्तरूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गर्नुभएको थियो । सम्मेलनको दौरान उहाँले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको थियाे ।