काठमाडाैं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनमा आवश्यक संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित गृहमन्त्रीसँग विपद् संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि नीतिगत र संरचनात्मक सुधार आवश्यक भएको उल्लेख गर्दै विज्ञहरूका सुझावका आधारमा ऐन परिमार्जन गरिने बताउनु भयो । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन संशोधनका लागि विज्ञहरुका सुझावहरु संकलन गरेर मन्त्रालयमा पठाउन विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशनसमेत दिनुभयो ।
उहाँले विपद् जुनसुकै समयमा पनि आउनसक्ने उल्लेख गर्दै विपद् प्रतिकार्य गर्ने राज्यका संरचनाहरुलाई प्रयोगात्मकरुपमा हेर्न नहुनेमा पनि जोड दिनुभयो । उहाँले विपद् पूर्वसूचना प्रणालीलाई आत्मसाथ गरिदिन राजनीतिक दलहरुलाई पनि आग्रह गर्नुभयो । उहाँले विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणालीलाई बलियो बनाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताउनु भयो ।
विपद् जोखिम न्युनिकरणको विषय सरकारको मात्र नभएको उल्लेख गर्दै उहाँले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया