भूमिसम्बन्धी संशोधित कानून प्रदेश र स्थानीय तहलाई अपनत्वमा गाँस्न सक्ने गरी आउनुपर्याेः महामन्त्री शर्मा

386 Shares

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई तीनै तहको सरकारले अपनत्व लिने गरि थप समृद्ध बनाउनुपर्ने बताउनुभएको छ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमवारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले विधेयकलाई संघीयताको मर्म र तीनै तह सरकारबीचको समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । उहाँले भूमिसम्बन्धी विधेयक संशोधनको आवश्यकता अपरीहार्य भएको भएपनि तीन तहको सरकारले अपनत्व नलिँदा कार्यान्वयनमा समस्या आउने भन्दै गम्भीर बन्नुपर्ने बताउनु भयो । 

भूमिसम्बन्धी नीतिगत अधिकार प्रदेश सरकारलाई भएपनि मूल कानून संघीय संसदले निर्माण गर्ने प्रावधान रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारलाई कानूनप्रति उत्तरदायी र संलग्न गराउन नसके कार्यान्वयनमा समस्या आउनसक्ने बताउनु भयो । 

भूमिसम्बन्धी विगतमा सर्वोच्च अदालतबाट भएका आदेशहरूप्रति ध्यान दिँदै भोलिको दिनमा कुनैपनि ठाउँबाट प्रश्न नउठ्ने गरी विधेयक निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।