काठमाडौं । सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
आइतबार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरुसँग संसद भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उक्त भेटघाट कार्यक्रममा सभामुख घिमिरेले विगतमा नेपालीहरुले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गर्नुभयो ।
निरङ्कुश राजतन्त्रको कठोर घेराभित्र नेपाल थिचिएको कारण तत्कालीन समयमा नेपालमा कला र साहित्यसँग सम्बन्धित कार्यक्रमहरु आयोजना हुन नपाएको उल्लेख पनि गर्नुभयो । उहाँले विश्वभर रहेका नेपालीभाषीहरुलाई एउटै मञ्चमा ल्याउन मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स जस्ता कार्यक्रमले ठूलो भूमिका खेलेको बताउनु भयो । संसारभर रहेका नेपालीहरुलाई गाँस्ने प्रयासमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया