एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच आज एकता हुने

299 Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच एकीकरण हुने भएकाे छ । 

नेकपा राष्ट्रिय एकता अभियानको अन्तिम केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सँग एकता गर्ने निर्णय गरेको हाे ।

अभियानका संयोजक वामदेव गौतमको अध्यक्षतामा भैँसेपाटीमा बसेको बैठकले विगत चार वर्षको समीक्षा गर्दै आज एकीकरण गर्ने निर्णय गरेको हो। एकताका लागि दुवै पार्टीका शीर्ष नेताले समझदारी गरिसकेकाले बैठकले त्यसलाई अनुमोदन गरेको हो।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिकरूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको बताइएकाे छ।

नेकपा (एकीकृत समाजवादी)ले आज राष्ट्रिय सभागृहमा हुने एकता सभामा पार्टी मातहतका कमिटीलाई अनिवार्य सहभागिताका लागि निर्देशन दिएको छ। नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका बीच एकीकरणको तयारी पूरा भएको छ।

विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए। लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफल भएको थियो। एकता हुन लागेको उक्त पार्टीको अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ।