भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

353 Shares

काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको सफल उद्धार गरिएको छ। 

आकर्षक जागिरको लोभ देखाएर त्यहाँ पुर्‍याइएका उनीहरूलाई शारीरिक र मानसिक यातना दिँदै विभिन्न बाहानामा रकम असुल गरिएको पाइएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड प्रहरी र सामाजिक संस्था केआइन इन्डियाको सहयोगमा ती नेपालीहरुको उद्धार गरिएको जानकारी दिएको हो।

nepal_indian-embassy.jpg

दूतावासका अनुसार, नेपाली युवाहरूलाई भारतको सीमावर्ती क्षेत्र हुँदै उत्तराखण्ड पुर्‍याएर बन्धक बनाइएको थियो। ती युवाहरूमाथि कुटपिट गरिनुका साथै अवैधरूपमा पैसा असुलिएको बताइएको छ । घटनामा संलग्न केही व्यक्तिहरुलाई स्थानीय प्रहरीले पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको बताइएको छ।

दूतावासले उद्धार गरिएका नेपालीहरूलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्य परीक्षण, कानुनी सहायता र नेपाल फर्काउने प्रक्रिया अगाडि बढाएको छ।