काठमाडौँ । अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्र (USNPRC) ले ‘नेपालको जलविद्युत् उद्योगको सम्भावना’ विषयक वेबिनार कार्यक्रम सम्पन्न गरेको छ।
वेबिनारमा नेपाल तथा विदेशका विभिन्न विज्ञ वक्ताहरूले नेपालको जलविद्युत् क्षेत्रमा विविध पक्षहरूबारे आफ्नो विचार प्रस्तुत गरे । USNPRC की अध्यक्ष श्रीमती जगदम्बा अधिकारीले सबै सहभागी र वक्ताहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यकारी अधिकृत कुल काप्रीले संस्थाको विगतका गतिविधिहरू र परिचय प्रस्तुत गर्नुभयो भने तरुण पौडेलले वेबिनारको सञ्चालन गर्नुभयो।
वरिष्ठ इन्जिनियर कृष्ण लामिछानेले नेपालको जलविद्युत् क्षमताको मूल्याङ्कन गर्दै व्यवहारिकरुपमा प्राप्त गर्न सकिने क्षमता कम रहेको बताउनुभयो। उहाँले व्यवहारिक तथा प्रविधिगत अध्ययनमार्फत जलविद्युत् क्षमताको यथार्थ मूल्याङ्कन गरी यथार्थमा आधारित योजनाहरू बनाइनु पर्नेमा जोड दिनुभयो। त्यसैगरी, अमेरिका वाशिङ्टन राज्यमा कार्यरत वरिष्ठ इन्जिनियर सुभाषचन्द्र गौतमले नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताउनुभयो।
गुगल र मेटा जस्ता प्रविधि कम्पनीहरूलाई नेपालमा सञ्चालनका लागि आमन्त्रण गर्नुपर्ने र वैदेशिक लगानी प्रोत्साहन गर्न स्पष्ट तथा सहजीकरण नीतिहरू आवश्यक रहेको उहाँले जोड दिनुभयो। वरिष्ठ इन्जिनियर दिनेश राणाले जलविद्युत् परियोजनाहरूमा ढिलाइ गराउने प्रमुख जोखिमहरूबारे उल्लेख गर्नुभयो, जसमा ठेक्कासम्बन्धी समस्या, स्थानीय जनतासँगका विविध असमझदारीहरू र यातायात तथा सुरक्षाका चुनौतीहरू प्रमुख हुन् । उहाँले बोलकर्ताले बोलपत्र पेस गर्नु पूर्व परियोजनास्थल अनिवार्यरूपमा भ्रमण गरी सोको प्रमाणपत्र संलग्न गर्नुपर्ने, जनसम्पर्क अधिकृत नियुक्त गरी स्थानीय समुदायसँग संवाद सुदृढ गर्नुपर्ने, तथा पूर्वाधार र सुरक्षासम्बन्धी समस्या सरकारद्वारा समाधान गरिनुपर्नेमा विशेष जोड दिनुभयो। मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाका प्रमुख वरिष्ठ इन्जिनियर पवन बस्नेतले दक्ष जनशक्तिको अभाव, र तालिम सुविधाको कमीका कारण हुने मर्मत र सञ्चालन चुनौतीहरूबारे चर्चा गर्दै तालिम केन्द्र स्थापनाको आवश्यकता र कानुनी तथा सामाजिक द्वन्द्व सम्बोधन गर्न स्पष्ट कानुन निर्माण गरिनुपर्नेमा जोड दिनुभयो।
क्यानडाको ऊर्जा तथा खानी विभागका व्यवस्थापक तथा इञ्जिनियर अर्जुन केसीले जलविद्युत् क्षमताबारे फैलिएको गलत धारणालाई सच्याउनुपर्ने बताउँदै विद्युत् निर्यातभन्दा देशभित्रको प्रयोगमा जोड दिनुभयो। उहाँले पारदर्शी र स्थिर नीति, वातावरणीय तथा सामाजिक सरोकार सम्बोधन गर्ने स्पष्ट कानुन आवश्यक रहेकोमा विशेष जोड दिनुभयो। नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर युवराज अधिकारीले नेपालको विद्युत् विकासको इतिहास र हालका योजनाबारे जानकारी दिँदै सौर्य ऊर्जाको सम्भावनालाई पनि उजागर गर्नुभयो। उहाँले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताले जलविद्युत् र सौर्य ऊर्जा विकासमा गति ल्याउने उल्लेख गर्दै आन्तरिक तथा सीमा-पार पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अन्त्यमा USNPRC का पूर्वअध्यक्ष डा. अमोद पोखरेलले सबै वक्ता र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया