काठमाडाैं । डेंगु संक्रमण देशका ७३ जिल्लाका फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७३ जिल्लाका १ हजार ३६० जनामा डेंगु देखिएको छ।
गत पुसदेखि बढ्दै गएको डेंगु बागमती प्रदेशमा बढी देखिएको छ। महाशाखाका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालका अनुसार बागमती, कोसी र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
तथ्यांकअनुसार बागमतीमा प्रदेशमा ३४८, कोशी प्रदेशमा २८२, गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ। लुम्बिनी प्रदेशमा २१५, सुदूरपश्चिम प्रदेशमा १७४, कर्णाली प्रदेशमा ३२ र मधेस प्रदेशमा १८ जनामा डेंगु पुष्टि भएको छ।
जिल्ला अन्तर्गत काठमाडौँमा सबैभन्दा बढी १ सय ४० जनामा डेंगु पुष्टि भएको छ। कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६० जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६, भक्तपुरमा ३० जनामा डेंगु देखिएको छ।
पानी परेपछि ठाउँठाउँमा पानी जम्ने र डेंगु फैलाउने लामखुट्टे बढ्ने गरेको छ। गत बर्ष ४६ हजारमा डेंगु संक्रमण देखिएको थियो भने १५ जनाको मृत्यु भएको थियो। डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। उच्च ज्वरो आउने, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने, मांसपेसीको दुखाइ, वाकवाकी लाग्ने र बान्ता आउने जस्ता लक्षण देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया