सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदिएकाे इप्पानकाे आराेप

417 Shares

काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालका ऊर्जा उत्पादक निजी क्षेत्रलाई सिध्याउने हिसाबले सरकार अघि बढेको आरोप लगाउनुभएको छ । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी इप्पानले निजी क्षेत्रलाई पनि सिध्याउने र नेपालको ऊर्जा क्षेत्रलाई सधैँका लागि ध्वस्त पार्नेगरी सरकारले विद्युतका क्षेत्रमा बजेट ल्याएको आरोप लगाउनुभएको हो । उहाँले बजेटले खपतको कुरालाई नसमेटेको र विक्री गर्ने कुरालाई पनि नछोएको बताउनु भयो । यसले सरकार बिजुली बढी भयो र अब पुग्यो भन्ने दिशातर्फ गइरहेको उल्लेख गर्नुभयो । 

भविष्यमा बिजुली बेच्दा नेपालले नै उत्पादन गरेर बेच्ने नभइ ठूला भारतीय कम्पनीहरु ल्याएर आफूलाई चाहिने उत्पादन गरेर लैजाने परिस्थिती देखिएको बताउनु भयो । सरकार सधैँ हिउँदको महिनामा भारतबाटै बिजुली किनेर ल्याएर नेपालको लोडसेडिङ अन्त्य गर्ने सोचका साथ अघि बढेको देखिएको बताउनु भयो । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुलाई सरकारले एउटा कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका नै बन्द गरिदिएको उहाँको आरोप छ । अध्यक्ष कार्कीले सरकारले बारम्बार निजी क्षेत्रलाई विद्युत व्यापारमा पनि सँगै अघि बढाइनेछ भन्ने गरेपनि व्यवहारतः पुष्टि हुन नसकेको जिकिर गर्नुभयो ।