काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।
मंगलबार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् । उनीहरुले सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरुले हाम्रा कुरा सुन्दे, चाहिए जति सुन दे, उपभोक्तामारा नियम चाहिँदैन, सरकार सुन दे, सुनचाँदीको कानून दे, उच्च कर हटाउ, व्यापार बचाउँ लगायतका प्लेकार्ड र नारासहित विरोध जनाएका हुन् । प्रदर्शनका क्रममा काठमाडौं सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष दशरथरत्न बज्राचार्यले सुनचाँदी महँगो भइरहेको बेलामा सरकारले विलाशिलता कर लगाउनु अव्यवहारिक भएको बताउनु भयो । उहाँले विलासिलता कर र रत्न आभुषणमा लगाइएको भ्याट खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।
देशभित्रै हजारौँलाई रोजगारी दिइरहेको क्षेत्रलाई सरकारले डुबाउने नियतले कर नीति लिएको आरोपसमेत उहाँले लगाउनु भयो । भक्तपुरमा सुनचाँदी व्यवसायी गर्दै आउनुभएका सुनिल बज्रचार्यले सरकारले सुनचाँदीमा विलाशिलता कर धेरै लगाइँदा ग्राहकलाई समेत ठूलो मार पर्ने बताउनु भयो । उहाँकाअनुसार सुनमा २ प्रतिशत र हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाइनु गलत हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया