बजारमा अधिक तरलता भएपछि ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

330 Shares

काठमाडौँ । सरकारले लगानीको वातावरण बनेको दाबी गरेपनि निजी क्षेत्रले लगानी नबढाउँदा बैंकहरुमा फेरि ठूलो रकम थ्रुपिएको छ। 

बैंकहरुमा धेरै रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज बुधबार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पटकपटक यसरी निक्षेप खिच्दै आएको छ।

राष्ट्र बैंकले २१ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदरसमेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । गत आईतवार पनि राष्ट्र बैंकले २० अर्ब खिचेको थियो ।