महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छः स्वास्थ्यमन्त्री

346 Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकाङ्क्षालाई गम्भीर ढङ्गबाट हेरिएको बताउनुभएको छ ।

मङ्गलबार औषधी व्यवस्था विभागमा औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकको गुणस्तरीय औषधि प्राप्त गर्ने आकाङ्क्षा र राज्यको दायित्वलाई पनि गम्भीररूपले हेरिएको बताउनु भयो । 

गुणस्तरीय औषधि प्राप्त हुने परिस्थिती बनाउनको लागि निर्माण गर्न लागि परेको बताउँदै  उहाँले महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यतालाई अन्त्य गर्नेतर्फ ध्यान दिइएको जिकिर गर्नुभयो । साथै उहाँले औषधिको मूल्यको बारेमा उपभोक्ता सुसूचित हुने अवस्था निर्माण गर्ने परिस्थिती निर्माण गर्न खोजिरहेकोसमेत जिकिर गर्नुभयो । उहाँले औषधिको मूल्य निर्धारण गर्ने सन्दर्भ लगायतका क्षेत्रलाई व्यवस्थित गर्न समितिको प्रतिवेदन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।  

औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिका संयोजक तथा अर्थविद् डा. पोषराज पाण्डेले नेपालमा प्रयोग हुने औषधिहरूको विशेषता, प्रकृति र महत्वको आधारमा सुझाव प्रश्तुत गरिएको बताउनु भयो । उहाँले नेपालमा औषधिको घरेलु उत्पादनको अवस्थालाई समेत प्रस्तुत गरिएको जिकिर गर्नुभयो । 

डा. पाण्डेले मुलतः साउथ एसियन देशहरू भारत, बङ्गलादेश र श्रीलङ्का लगायतका देशमा तोकिएको औषधिको मूल्यसूचिलाई समीक्षा गरिएको बताउँदै औषधि व्यवस्था विभागको संस्थागत क्षमताबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको बताउनु भयो ।