काठमाडौँ । सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अबकाे सात दिनसम्म निष्क्रिय रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ्न सक्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको बताउनुभयो । विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिनुभयो । वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उल्लेख गर्नुभयो ।
कर्णाली प्रदेशको पूर्वी भू-भाग, लुम्बिनी प्रदेशको उत्तरी भू-भाग र गण्डकी प्रदेशको अधिकांश भू-भागमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको महाशाखाको भनाइ छ ।
पराजुलीका अनुसार विभागले जल तथा मौसम पूर्वानुमान, सतर्कता तथा चेतावनीसम्बन्धी पूर्वसूचनालाई थप व्यवस्थित, प्रभावकारी र समयमै सूचना सम्प्रेषण गर्ने उद्देश्यले मनसुन अवधिभर आमसञ्चार माध्यम तथा सरोकारवालालाई प्रत्यक्ष जानकारी गराउन सुरु गरेको छ । विभागले मौसमसम्बन्धी सूचनाका लागि ११५५ र बाढीसम्बन्धी सूचनाका लागि ११५५ टोलफ्रि नम्बरमार्फत २४सै घण्टा सेवा दिँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया