ललितपुर महानगरपालिकाद्वारा २४ जनालाई विपद् उद्धारसम्बन्धी तालिम

301 Shares

ललितपुर । ललितपुर महानगरपालिकाले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै २४ जनालाई विपद् उद्धारसम्बन्धी तालिम दिएको छ । 

सरदरभन्दा बढी वर्षा र गर्मी हुने विज्ञहरुको अनुमानसँगै सरकारले विपद् उद्धारका लागि तालिम लगायतको आवश्यक प्रवन्ध शुरु गरिसकेको छ। ललितपुर महानगरपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले केही दिनअघि मात्रै विपद् उद्धार तालिम शुरु गरेको थियो । विपद् उद्धारसम्बन्धी तालिम समापन कार्यक्रममा बोल्दै ललितपुर मेयर चिरिबाबु महर्जनले २४ जनाले लिनुभएको विपद्सम्बन्धी तालिमले भविष्य राम्रो हुने बताउनु भयो । 

उहाँले विपद्सम्बन्धी प्रशिक्षणले आगामी दिनमा मनसुनजन्य विपद्का बेलामा आइपर्ने समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । विपद्सम्बन्धी तालिम अब नरोकिने स्पष्ट पार्दै उहाँले बजेट निर्माणको चरणमा आफूहरु रहेको र तालिमका कार्यक्रमहरु राख्न उचित समय रहेको बताउनु भयो । 

मेयर महर्जनले विपद् आइसकेपछि गर्नुपर्ने उद्धारका कुरामा महानगरले आवश्यक तयारी गरिरहेको पनि जानकारी गराउनु भयो । विपद्सँग लड्न प्रत्येक वडामा विपद्सम्बन्धी तालिम लिएको युवा जनशक्ति आवश्यक हुने उहाँले बताउनु भयो ।