वागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन गरिने बताउनुभएको छ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिनुहुँदै मन्त्री काफ्लेले रणनीतिक महत्वको सडक, विपद् जोखिम न्युनिकरण, कृषि क्षेत्रको व्यवसायीकरणलाई जोड दिनेगरी बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
बजेट प्रणालीमा वित्तीय जवाफदेहितलाई अभिवृद्धि गरिने समेत उहाँले बताउनु भयो । संघीय शासन प्रणालीमार्फत विकास र समृद्धि हासिल गर्न वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन जरुरी भएको मन्त्री काफ्लेको भनाइ छ । चालु खर्चमा कटौती, पुँजीगत खर्चमा बृद्धि गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने क्षेत्रमा लगानी गर्ने सिद्धान्त र प्राथमिकता कार्यान्वयन गर्न दृढ रहेको उहाँले दाबी गर्नुभयो ।
मन्त्री काफ्लेले समाजमा रहेका विकृति विसंगतिहरुलाई मात्र इंगित गरी राम्रा पक्षहरुलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भयो । जनतामा रहेका निराशाहरु चिर्दै आशाको सञ्चार गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ । प्रदेशको स्रोत र साधनलाई समेत मध्यनजर गर्दै आगामी वर्षको बजेट विनियोजन गर्ने मन्त्री काफ्लेले प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री काफ्लेले छलफलको क्रममा प्राप्त सुझावहरुलाई सम्बोधन गर्ने आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
प्रदेश सभाको अर्काे बैठक आगामी जेठ १४ मा बस्ने गरी स्थगित गरिएको छ । १४ गते बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम सम्बोधन हुने सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । उक्त दिन निर्धारित समयभन्दा ३० मिनेट अगावै सांसद्हरुलाई औपचारिक पोशाकमा उपस्थित भइसक्नसमेत सभामुख पाठकले आग्रह गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया