भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र क्षतिपूर्तिको माग

15 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

छठ मनाउन घर फर्किंदै गरेका नागरिकले दुर्घटनामा ज्यान गुमाउनुपरेको घटनाले आफूलाई मर्माहत बनाएको उहाँले बताउनुभएको छ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले लेख्नुभएको छ, “छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ। एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ।”

उहाँले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भन्नुभएको छ, “घाइतेहरूको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु।”