चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य

11 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाउँदै पोखरासामु १५२ रनको लक्ष्य राखेको छ ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको पोखराविरुद्ध चितवनका ओपनर अर्जुन साउद र डेविड मलानले राम्रो सुरुवात दिलाएका थिए । उनीहरूले पहिलो विकेटका लागि ८।६ ओभरमा ६० रनको साझेदारी गरे ।

अर्जुनले २७ बलमा २ चौका र एक छक्कासहित ३१ रन बनाए । उनलाई विपिन खत्रीले एलबीडब्लु धरापमा पारे । मलानले २८ बलमा ३ चौकासहित २८ रन जोडे । उनी कुशल भुर्तेलको बलमा बोल्ड भए । त्यसपछि कुशल मल्लले ११ र डान मुस्लीले २ रन मात्रै बनाउन सके ।

चितवनको इनिङ्समा रवि बोपारा र सिकन्दर राजाको साझेदारी महत्वपूर्ण रह्यो । पाँचौँ विकेटका लागि उनीहरूले ६० रन जोडे । बोपाराले २८ बलमा ३ चौका र एक छक्काको मद्दतले ३५ रन बनाए । उनलाई चमिका करुणारत्नेको बलमा विपिन खत्रीले क्याच गरे ।

त्यस्तै, राजाले १६ बलमा २ चौका र ४ छक्कासहित ३७ रनको योगदान दिए । उनी पनि करुणारत्नेको बलमा क्याच आउट भए । कमल ऐरी ४ रनमा अविजित रहे ।

पोखराका लागि चमिका करुणारत्ने, कुशल भुर्तेल र विपिन खत्रीले समान दुई–दुई विकेट लिए । लक्ष्य पछ्याउन पोखराले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।