सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

19 Shares

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से सडकखण्डमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शुक्रबार बिहान सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि उक्त मार्गमा सवारी आवागमन ठप्प भएको हो ।

सडक अवरुद्ध भएपछि गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी र पोखरातर्फ जाने तथा ती क्षेत्रबाट गुल्मी आउने सवारीसाधन बाटोमै रोकिएका छन् ।

पहिरो खसेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक समन्वय गरिरहेको छ । कालीगण्डकी गाउँपालिका र प्रहरीको सहकार्यमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको छ ।

सडक माथिबाट निरन्तर चट्टानसहितको पहिरो झर्ने क्रम रहेकाले अवरोध हटाउन समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।