बागमती । लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन् ।
यहाँस्थित गरगरे बस्तीका आठवटा घर जमिन चिरिएका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि स्थानीय प्रशासनले अस्थायी बासका लागि टेन्ट तथा पालहरू उपलब्ध गराएको थियो ।
पूर्ण क्षतिग्रस्तसहित यहाँका प्रभावित ८० घरधुरी स्थानान्तरणका लागि स्थानीय तहबाट जिल्लामा सिफारिससहित अनुरोध गरिए पनि दसैँअघि बस्ती स्थानान्तरण हुन नसकेपछि प्रभावितहरूले अस्थायी आवासमा दसैँ मनाएको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले बताए ।
गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले यहाँका कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको र दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँठाउँमा जमिन चिराचिरा परेको जानकारी दिए ।
जमिन चिरा परेको सूचना प्राप्त हुनेबित्तिकै यहाँका स्थानीयलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको बताउँदै उनले प्रभावितका लागि तत्काललाई आवश्यक टेन्टलगायतका सामग्रीहरू उपलब्ध गराइएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया