साइबर जोखिम टार्न सरकारी र बैंकका वेबसाइट अस्थायी बन्द

59 Shares

वेबसाइटमा देखिएको गम्भीर सुरक्षा कमजोरीको जोखिम न्यूनीकरण गर्न नेपालका विभिन्न सरकारी निकाय तथा बैंक र वित्तीय संस्थाले आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन् । वेबसाइट सञ्चालनमा प्रयोग हुने एज्ए प्रविधिमा दुईवटा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि सम्भावित साइबर आक्रमण रोक्न यस्तो कदम चालिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले प्रभावित प्रणाली सुरक्षित बनाउन प्राविधिक टोली परिचालन गरेको छ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पनि अक्टोबर २२ मा सुरक्षा सतर्कता जारी गर्दै एज्ए प्रयोग गर्ने संस्थालाई प्रणाली अद्यावधिक गर्न आग्रह गरेको छ । सुरक्षा अद्यावधिक तत्काल गर्न नसकिने अवस्थामा जोखिमयुक्त वेबसाइटलाई इन्टरनेटबाट अस्थायी रूपमा अलग राख्न सुझाव दिइएको छ ।

सुरक्षा कमजोरीको दुरुपयोग भएमा अनधिकृत व्यक्तिले सर्भरमा पहुँच प्राप्त गर्ने, संवेदनशील विवरण चोर्ने वा वेबसाइटको सामग्री परिवर्तन गर्ने जोखिम हुन्छ । यही कारण नेपाल राष्ट्र बैंकले बैंक, भुक्तानी सेवा प्रदायक तथा रेमिट्यान्स कम्पनीलाई पनि सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिएको छ ।

विश्वका अन्य देशमा समेत यही सुरक्षा जोखिमका कारण सरकारी तथा सार्वजनिक सेवा प्रदान गर्ने वेबसाइट अस्थायी रूपमा बन्द गरिएका छन् । नेपालमा पनि प्रभावित प्रणालीमा सुरक्षा अद्यावधिक गरी जाँच पूरा भएपछि सेवा पुनः सञ्चालन गर्ने तयारी छ ।