पैदलयात्रीले सडक पार गर्ने क्रममा ज्यान गुमाउने घटना बढेपछि ललितपुरको कुसुन्तीमा लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण भइरहेको छ । ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा बन्न लागेको यो पुलले ज्येष्ठ नागरिक, बिरामी, बालबालिका तथा हिँडडुल गर्न कठिनाइ हुने व्यक्तिलाई सडक पार गर्न सहज बनाउने लक्ष्य राखेको छ ।
करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको मुख्य विशेषता दुवैतर्फ लिफ्ट राख्ने व्यवस्था हो । यसले सिँढी चढ्न कठिन हुने ज्येष्ठ नागरिक, बिरामी र ह्विलचेयर प्रयोगकर्तालाई सडक वारपार गर्न सहयोग पु¥याउनेछ । पाटन अस्पताल नजिकै रहेको यस क्षेत्रमा उपचारका लागि आउने बिरामीलाई समेत पुल उपयोगी हुने निर्माण पक्षको अपेक्षा छ ।
पुल निर्माणको प्रारम्भिक योजनामा शौचालय, रेस्टुरेन्ट तथा व्यावसायिक सटर राख्ने प्रस्तावसमेत गरिएको थियो । तर ती सुविधा समेट्ने प्रस्ताव स्वीकृत नभएपछि हाल पुलको मुख्य संरचना निर्माणमा काम केन्द्रित गरिएको छ । निर्माणका क्रममा माथिल्लो संरचनामा प्राविधिक त्रुटि देखिएपछि पुनः परीक्षण र जडान गर्नुपर्दा काममा करिब आठ महिना ढिलाइ भएको वडाध्यक्ष केसीले बताएका छन् ।
निर्माण पक्षले बाँकी काम पूरा गरी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । पुल सञ्चालनमा आएपछि व्यस्त चक्रपथमा पैदलयात्रीले सडक पार गर्दा सामना गर्नुपर्ने जोखिम घट्ने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया