हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौरीसहित २०० पशु भारी हिमपातपछि बेपत्ता भएका छन् । असोज १० र ११ गते परेको हिमपातका कारण लिङ खोला क्षेत्रको उच्च पाटनमा रहेका पशुवस्तुको अवस्था अज्ञात बनेको हो ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङ बताउछन् बेपत्ता पशुवस्तुमा १०० चौरी, ५० घोडा तथा ५० जुमा र झोपा छन् । हिमपातपछि उच्च पाटनमा बाक्लो हिउँ जमेकाले पशुहरूको खोजी गर्नसमेत कठिन भएको छ । प्रतिकूल मौसमका कारण घटनास्थलसम्म पुगेर पशुवस्तुको अवस्था बुझ्न नसकिएको उनले बताएका हुन् ।
लिमीका स्थानीयका लागि चौरीपालन आम्दानी र जीविकोपार्जनको महत्त्वपूर्ण आधार हो । हिमपातमा बेपत्ता चौरी फेला नपरे यस क्षेत्रको चौरीपालन व्यवसायमा ठूलो असर पर्न सक्ने चिन्ता स्थानीयमा देखिन्छ । पशुवस्तुको खोजी तथा अवस्थाबारे जानकारी जुटाउन वडाध्यक्षले सम्बन्धित निकाय र सरोकारवालासँग सहयोगको आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया