काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी सङ्कलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ रुपैयाँ सङ्कलन गरेको छ । कार्यालयले जडीबुटी, काठदाउरा आदिको सङ्कलन तथा उपयोगबाट उक्त आम्दानी गरेको हो ।
आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा तीन करोड ९० लाख ९८ हजार ९९१ रुपैयाँ सङ्कलन गरेको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा रहेका ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा, ढुङ्गागिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले रकम उठाउने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए ।
“प्राकृतिक स्रोतको उपयोगबाट सङ्कलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन्,” उनले भने ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य यार्सागुम्बालगायत जडीबुटीको सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्वपूर्ण टेवा पुगेको छ ।
आयोजना कार्यालयले प्राकृतिक स्रोतसाधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको छ । पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानी संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च गर्ने गरिएको आयोजना कार्यालयले जनाएको छ ।
कार्यालयले पदमार्ग, फोहोर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन र संरक्षण शिक्षालगायत गतिविधि सञ्चालन गर्दै आएको छ । यस क्षेत्रमा भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्रै वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । संरक्षण क्षेत्रअन्तर्गतका निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया