तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प- १६ जनाको मृत्यु

8 Shares

काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जना सामान्य घाइते भएका छन् । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन् ।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको अधिकारीहरूले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ ।

उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यस्तै, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले ३४७ जना जनशक्ति प्रभावित क्षेत्रमा खटाएको छ ।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको आकलन भइरहेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।