जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिको जोखिम बढ्दै जाँदा नेपालजस्ता कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई थप ऋणको भार बोकाउने नभई न्यायपूर्ण वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने माग उठेको छ । जलवायु सङ्कट सिर्जना गर्न न्यून योगदान गरेका देशले त्यसको असर सामना गर्न पुनः ऋण लिनुपर्ने अवस्था अन्यायपूर्ण भएको भन्दै अनुदानमा आधारित सहयोगको आवश्यकता औँल्याइएको छ ।
नेपालले बाढी, पहिरो तथा अन्य जलवायुजन्य विपत्तिबाट ठूलो क्षति बेहोर्दै आएको छ । यस्ता विपत्तिपछि प्रभावित समुदायको पुनःस्थापना, भौतिक संरचनाको पुनर्निर्माण र जनजीवन सामान्य बनाउन ठूलो आर्थिक स्रोत आवश्यक पर्छ । तर, सहयोगका नाममा उपलब्ध गराइने रकम ऋणका रूपमा आएमा विपत्तिबाट उकासिन खोजिरहेका देशको आर्थिक दायित्व थप बढ्ने चिन्ता छ । त्यसैले नेपालजस्ता जलवायु जोखिममा रहेका देशलाई थप ऋणमा निर्भर बनाउनुको सट्टा अनुदान, प्रविधि हस्तान्तरण र दीर्घकालीन वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने आवाज उठिरहेको छ ।
जलवायुजन्य विपत्तिपछि राहत र पुनर्निर्माणमा मात्रै सीमित नभई भविष्यमा हुने क्षति न्यूनीकरण, पूर्वसूचना प्रणालीको विकास तथा समुदायको उत्थानशीलता बढाउन पनि पर्याप्त स्रोत आवश्यक रहेको छ । जलवायु सङ्कटको भार कम योगदान गर्ने देशमाथि थप आर्थिक दायित्वका रूपमा नथोपरी जिम्मेवारी र न्यायका आधारमा वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने विषय यस बहसको मुख्य निष्कर्ष हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया