काठमाडौंका सडकमा सवारी आवागमन सुरक्षित र व्यवस्थित बनाउन सडक डिभिजन काठमाडौंले रातिको समयमा सडक चिह्न निर्माणको काम तीव्र पारेको छ । दिउँसो सवारी चाप बढी हुने भएकाले राति ९ बजेदेखि बिहान ५–६ बजेसम्म थर्मोप्लास्टिक पेन्ट प्रयोग गरी लेन चिह्न, एज लाइन र जेब्रा क्रसिङ बनाउने काम भइरहेको छ ।
सिंहदरबार आसपास र कालिमाटी क्षेत्रमा काम भइरहेको छ भने करिब ६ किलोमिटर सडकमा एज लाइन निर्माण सम्पन्न भइसकेको छ । एज लाइनमा पहेँलो र सेन्टर लाइन तथा जेब्रा क्रसिङमा सेतो रङ प्रयोग गरिएको छ । मुख्य सडकको काम दशैँअघि सक्ने र दशैँ–तिहारको बीचमा अन्य सडकमा पनि काम गर्ने लक्ष्य रहेको छ ।
सडक चिह्न तथा ट्राफिक संकेत निर्माणका लागि के.ए.एम.÷रुवी÷अयान जेभीसँग भ्याटसहित ७ करोड १५ लाख ५३ हजार २८३ रुपैयाँको ठेक्का सम्झौता भएको छ । २०८३ असार २६ गते सुरु भएको आयोजना २०८३ चैत २५ गतेसम्म सम्पन्न गर्नुपर्ने छ । सडक चिह्न स्पष्ट हुँदा चालकलाई लेन पहिचान गर्न र पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया