अर्बपति विनोद चौधरी कांग्रेस उपसभापतिमा निर्वाचित

183 Shares

उद्योग व्यवसायमा स्थापित पहिचान बनाएका विनोद चौधरी नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा समावेशी समूहबाट उम्मेदवारी दिएका चौधरीले १ हजार ७४५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका थिए ।
उपसभापतिको खुला प्रतिस्पर्धामा चन्द्रकान्त भण्डारी ३ हजार ७३५ मत र मधु आचार्य २ हजार ३४२ मतसहित निर्वाचित भए । यससँगै कांग्रेसको नेतृत्वमा चौधरीले महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । चौधरीको राजनीतिक यात्रा नेकपा एमालेबाट सुरु भएको थियो । उनी २०६४ सालमा एमालेबाट समानुपातिक सभासद बनेका थिए । २०७४ सालको निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गरेका उनी २०७९ सालमा नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
व्यवसायबाट राजनीतिमा आएका चौधरीले आर्थिक विकास, रोजगारी सिर्जना र नीतिगत सुधारलाई प्राथमिकता दिँदै आएका छन् । उपसभापतिमा निर्वाचित भएसँगै उनले अघि सारेका आर्थिक रूपान्तरण र युवा नेतृत्वका एजेन्डा पार्टीभित्र कसरी कार्यान्वयन हुन्छन् भन्ने चासो बढेको छ ।