तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

18 Shares

काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ७८ प्रतिशत भौतिक काम सम्पन्न भएको छ। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण भइरहेको आयोजनाका तीनवटै प्याकेजको निर्माण कार्य उल्लेख्य रूपमा अघि बढेको आयोजना कार्यालयले जनाएको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार आयोजनाअन्तर्गत बाँध तथा अन्य हेडवक्र्स संरचना, मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण र दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण कार्य समानान्तर रूपमा भइरहेको छ।

आयोजनालाई तीनवटा प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ। प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचनाको निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ। यस प्याकेजको भौतिक प्रगति हाल ६३ प्रतिशत पुगेको छ।

मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक निर्माण, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ।

आयोजनाको १४० मिटर अग्लो मुख्य बाँध निर्माणका लागि विसं २०८१ चैत ७ गते पहिलोपटक कङ्क्रिट राखेर कङ्क्रिटिङ कार्य सुरु गरिएको थियो। गत भदौ महिनामा मात्रै ३३ हजार ६८१ घनमिटर कङ्क्रिट राखिएको आयोजना कार्यालयले जनाएको छ।

हालसम्म बाँध तथा सम्बन्धित संरचनामा ५ लाख ७ हजार ४४२ घनमिटर कङ्क्रिट राख्ने काम सम्पन्न भएको छ। मुख्य बाँध निर्माण आयोजना सम्पन्न गर्ने दिशामा महत्वपूर्ण कामका रूपमा रहेको छ।

प्याकेज–२ को काम ७९ प्रतिशत

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरणको निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ। यस प्याकेजअन्तर्गत अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।

विद्युत्गृह, केबल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायतका प्रमुख संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ। यस प्याकेजको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ।

जलाशयमा सङ्कलन हुने पानीलाई विद्युत्गृहसम्म पुर्‍याउन प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य पनि जारी छ। कुल १ हजार ४१८ दशमलव ७५ मिटर कङ्क्रिट लाइनिङ गर्नुपर्नेमा हालसम्म १ हजार ४०७ दशमलव ७५ मिटर काम सम्पन्न भइसकेको छ।

यस हिसाबले मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य अन्तिम चरणमा पुगेको छ। बाँकी रहेको काम सम्पन्न भएपछि विद्युत् उत्पादनतर्फको पूर्वाधार निर्माणमा थप प्रगति हुने अपेक्षा गरिएको छ।

प्रसारण लाइनको काम ८२ प्रतिशत

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण भइरहेको प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको काम पनि तीव्र रूपमा अघि बढेको छ।

प्याकेज–३ को निर्माण केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ। कुल ३३ किलोमिटर लामो प्रसारण लाइनमा ९४ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म ८३ वटा टावरको जग निर्माण सम्पन्न भएको छ भने ८० वटा टावर खडा भइसकेका छन्।

चितवन र तनहुँका डिभिजन वन कार्यालयबाट वन क्षेत्रमा प्रवेश तथा रूख कटानका लागि आवश्यक अनुमति प्राप्त भएपछि प्रसारण लाइन निर्माणको कामले थप गति लिएको आयोजना प्रमुख भण्डारीले बताए।

यस प्याकेजको भौतिक प्रगति हाल ८२ प्रतिशत पुगेको छ।

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना सम्पन्न भएपछि नेपालमा थप विद्युत् उत्पादन हुनुका साथै राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। आयोजनाका बाँध, सुरुङ, विद्युत्गृह तथा प्रसारण लाइनका कामहरू निर्धारित योजनाअनुसार अघि बढेसँगै आयोजना निर्माणले पछिल्लो समय थप गति लिएको छ।