अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँ : कानूनमन्त्री गौतम

17 Shares

काठमाडाैं ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानूनी व्यवस्था संशोधनको तयारी भइरहेको बताउनुभएको छ । 

 

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले अध्यादेशमार्फत मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संसोधन गर्न लागेको बताउनुभएको हो ।

संसदको नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानूनी व्यवस्था अध्यादेशमार्फत छिटो अघि बढाउने तयारी भइरहेको उहाँले बताउनु भयो । मृत्यु घोषणा र मृत्यु दर्तासम्बन्धी कानूनमा आवश्यक संशोधनका लागि मन्त्रालयले आवश्यक खाका तयार गरिसकेको उहाँको भनाइ छ । उहाँले सरकारले अब कानुन निर्माण गर्दा विपद्लाई केन्द्रमा राखेर गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले मृत्यु घोषणाको सवालमा मृत्यु दर्ता गर्नुपर्ने अवस्था छ । मृत्यु घोषणा कसरी गर्ने भन्ने प्रक्रियाका विषयमा पनि हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मा गएर निरन्तर छलफल गरिरहेका छौँ । त्यसमा अहिले एउटा समाधान निस्किसकेको छ ।

अब कानून मूल ऐनमै संशोधन गर्नुपर्ने हुन्छ । नियमित प्रक्रियाबाट हाम्रो संसद चलिरहेको अवस्थामा यो प्रक्रियाबाट जाँदा केही समय लाग्ने हो कि भन्ने पनि थियो । अहिले संसद अधिवेशन अन्त्य भएको छ, अब अध्यादेशमार्फत छिट्टै नै सरकारले देवानी संहिता, पञ्जीकरण ऐन अथवा विपद्सम्बन्धी कानूनमा यो व्यवस्था राख्ने भन्नेकुरा यकिन गरेर मृत्यु घोषणा र मृत्यु दर्ताको सवालमा कानून निर्माण गर्दैछ । यसको तयारी भइसकेको छ ।’

विपद् व्यवस्थापन बहुआयामिक र विभिन्न मन्त्रालयसँग सम्बन्धित विषय भएकाले मौसम पूर्वानुमान, राहत प्याकेज, उद्योगी–व्यवसायीलाई सहजीकरण तथा विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षणलगायत विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर आवश्यक कानुन निर्माण गर्ने काम भईरहेको उहाँले बताउनुभयो ।